काठमाडौं। चर्चित गायक चक्र बमले नयाँ इलेक्ट्रिक कार खरिद गरेका छन्। उनले हालै काठमाडौंस्थित बिवाइडीको शोरूमबाट आधुनिक प्रविधियुक्त विद्युतीय कार खरिद गरेका हुन्।
कार डेलिभरीको विशेष क्षणमा चक्र बम आफ्नी श्रीमती र छोरासहित सहभागी भएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको फोटोमा उनले कालो कपडाले ढाकिएको कारसँग ठूलो रातो रिबन सहित उभिएको देखिन्छ, जहाँ उनी र उनका परिवारका सदस्यहरू उत्साहित मुद्रामा छन्।
बिवाइडी ब्रान्डको यो कार विश्वव्यापी रूपमा इको–फ्रेन्ड्ली तथा आधुनिक प्रविधियुक्त विद्युतीय कारका रूपमा चर्चित छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढिरहेको बेला गायक बमको यो निर्णयले वातावरणमैत्री जीवनशैली अपनाउने उदाहरण प्रस्तुत गरेको छ।
सामाजिक सञ्जालमा सक्रिय गायक चक्र बमले कार खरिदको खुसी आफ्ना प्रशंसकहरूसँग साझा गरेका छन्। धेरैले उनलाई बधाई दिँदै थप सफलताको शुभकामना दिएका छन्।
गायक बम नेपाली लोक, पप तथा तथा देउडा फ्युजन विधामा लोकप्रिय छन्। उनका गीतहरू सामाजिक सन्देश, परम्परा र जीवनशैलीसँग सम्बन्धित हुने भएकाले सबै पुस्तामा मन पराइन्छ। संगीत यात्रामा निरन्तर सक्रिय रहेका बमले व्यक्तिगत जीवनमा पनि सफलताको नयाँ अध्याय सुरु गरेका छन्।
बमका ओई काजल (नजर लागली), पहाडियो बिग्रियो जाँडको झोलमा (थारु गीत), ओ मेरी भाउजु, दारु सड्काउने, भतन साली, बम्बै गैजाने बेलाका गीत निकै चर्चित छन्। उनका थुप्रै गीतले युट्य्ुबमा करोडौँ भ्युज पनि पाएका छन्।