२०८३, आश्विन २७ गते

प्रधानमन्त्री ओलीलाई ट्याग गर्दै कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारीको रोदन: 'लगानीकर्ताबाट आर्थिक शोषण र मानसिक यातना भयो'

प्रधानमन्त्री ओलीलाई ट्याग गर्दै कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारीको रोदन: 'लगानीकर्ताबाट आर्थिक शोषण र मानसिक यातना भयो'

आइतवार, श्रावण ५ २०८२
आइतवार, श्रावण ५ २०८२
  • प्रधानमन्त्री ओलीलाई ट्याग गर्दै कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारीको रोदन: 'लगानीकर्ताबाट आर्थिक शोषण र मानसिक यातना भयो'

    काठमाडौं। लोकप्रिय हास्य रियालिटी शो कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियन का निर्माता विशाल भण्डारीले आफ्नो कम्पनी थ्री प्रोडक्सन प्रा.लि. मा लगानीकर्ताको रूपमा प्रवेश गरेका एक व्यक्तिले आर्थिक शोषण, कर दबाब, मानसिक यातना दिएको गम्भीर आरोप लगाएका छन्।

    सामाजिक सञ्जालमार्फत भावुक तर स्पष्ट अभिव्यक्ति दिंदै निर्माता भण्डारीले लेखेका छन्, 'एक घोर अन्यायको विरुद्ध आज म हिम्मत गरेर लेख्दैछु।' उनका अनुसार, करीब १८–१९ महिना अघि आफुलाई एनआरएन दाबी गर्ने एक व्यक्तिले ३ करोड ५० लाख रुपैयाँ लगानी गर्दै ३० प्रतिशत शेयर लिने सर्तमा कम्पनीमा प्रवेश गरेका थिए। दुबै पक्षबीच गरिएको लिखित सम्झौतामा लगानी गरेपछि २४ महिनासम्म रकम फिर्ता नलिने प्रावधान स्पष्ट रूपमा उल्लेख गरिएको थियो।

    भण्डारीका अनुसार, कमेडी च्याम्पियन सिजन ३ सम्पन्न भएलगत्तै ती लगानीकर्ताले सम्झौता विपरीत पैसा फिर्ता माग्न थाले र कानुनी तथा मानसिक दवाब सिर्जना गरे। उनले थपेका छन्, 'उक्त व्यक्तिले राज्य संयन्त्र र चिनजानको दुरुपयोग गर्दै, आफै संचालक रहेको कम्पनीको चेक प्रयोग गरी ममाथि बैंकिङ कसुरको मुद्दा हालेर मलाई दिनहुँ तनावमा राखे।'

    उक्त प्रक्रियामा उनीसँग २ करोड ४० लाख रुपैयाँ असुलेको र त्यसमध्ये ९० लाख रुपैयाँ बढी भएको भण्डारीको भनाइ छ। उनका अनुसार सबै कारोबार बैंकमार्फत भएका प्रमाणहरू आफूसँग छन् तर उल्टै कम्पनीको खाता रोक्ने, कार्यक्रमको काम अवरुद्ध गर्ने, धम्क्याउने कार्यहरू भैरहेका छन्।

    कार्यक्रम संचालनमै असर परेको उल्लेख गर्दै भण्डारी भन्छन्, 'सिजन ३ का विजेता कलाकारलाई आजसम्म पुरस्कार दिन सकिएको छैन। केही प्राविधिक तथा स्टाफहरूको तलब समेत बाँकी छ।'

    भण्डारीले कम्पनीका अन्य शेयरधनीहरूको सहमतिमा कानुनी प्रक्रिया अघि बढाउँदै ती व्यक्तिविरुद्ध कम्पनी ऐन अन्तर्गत कर अपचलनसम्बन्धी मुद्दा दायर गरिएको र मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा विचाराधीन रहेको जानकारी दिएका छन्।

    साथै उनले नेपाल प्रहरीका केही अधिकारीले पनि ती व्यक्तिको प्रभावका कारण वास्तविकता हेर्न चासो नदिएको उल्लेख गर्दै पीडा पोखेका छन्, 'त्यो बेला मलाई प्रयोग गरिएको शब्द आज पनि सम्झँदा मन दुख्छ। मरेतुल्य बनाइएको त्यो क्षण बिर्सन खोज्दा पनि सक्दिन।'

    भण्डारीले स्पष्ट रूपमा भनेका छन् कि यो मुद्दा मात्र व्यक्तिगत होइन, करिब १००–११० जना कलाकार र प्राविधिकहरूको रोजगारी र भविष्यको सवाल हो।

    'म त दुई भाइ र बुवा–आमासहित विदेश जान सक्छु, तर कम्पनीको बाँकी १०९ जना कर्मचारीको भविष्य के हुन्छ?' भन्दै उनले सरकार, कानुन र न्याय प्रणालीसँग इमान्दार सिर्जनाकार, कलाकार र कर्मशील नेपालीहरूको पक्षमा निर्णय लिन आग्रह गरेका छन्।

    उनले दोषी व्यक्तिको नाम र तस्बिर सार्वजनिक नगर्नुको कारण रूपमा त्यस व्यक्तिका परिवार र बालबालिकाको सम्मान बचाउन खोजेको उल्लेख गरेका छन्। उनले उक्त पोष्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्याग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij