काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) १७ औं सिजन आजदेखि सुरु हुँदैछ।
क्रिकेटको महाकुम्भ भनेर चिनिने आईपीएलमा पहिलो खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा हुँदैछ। यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ।
आजबाट सुरु हुन लागेको यस सिजनको पहिलोे खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोर भिड्दैछन्।
त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिने छ । उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिने छन्। अक्षय कुमार, टाइगर श्राफलगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने बताइएको छ।
यस पटक चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्रसिंह धोनीले नगर्ने भएका छन्। आईपीएलका सर्वाधिक सफल कप्तान धोनी यसवर्ष खेलाडीको रुपमा मात्रै खेल्ने भएका हुन्। चेन्नईले युवा ओपनर ऋतुराज गायकवाडलाई नयाँ कप्तानमा नियुक्त गरेको छ। धोनीको यो अन्तिम आईपीएल सिजनसमेत हो।
आईपीएलका सर्वाधिक सफल कप्तान धोनीले चेन्नईलाई पाँचपटक आईपीएलको उपाधि दिलाएका थिए। चेन्नइले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो। बैङ्गालोर हालसम्म पनि उपाधि बिहिन छ। बैङ्गालोर फाफ डु प्लेसिसको कप्तानीमा छ।
१७ औं सिजनमा १० टोलीबीच ७४ खेल हुनेछन्। प्रतियोगितामा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदराबादको सहभागिता रहने छ ।