काठमाडौं। साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ।
शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले पराजित गरेको हो।
नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गोल गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरे।
पहिलो हाफमै ६-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल मात्र गर्न सक्यो। खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।
नवौं मिनेटमा समिक्षाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किँदै गोलकिपरलाई लागेर पोस्टभित्र छिरेपछि नेपालको अग्रता दोब्बर भयो।
१२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन्। २३औं मिनेटमा मीनाको पासमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई ४(० को अग्रतामा पुर्याइन्।
इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमा राईले हेडर गोल गर्दै अग्रता ५(० मा पुर्याइन्। इन्जुरी समयकै अन्तिममा पूर्णिमाले ह्याट्रिक पूरा गर्दा नेपाल ६-० ले अघि रह्यो।
६३औं मिनेटमा कुसुम खतिवाडाले गोल गरिन् भने लगत्तै ६४औं मिनेटमा मीनाले ह्याट्रिक पूरा गरेपछि नेपाल ८-० ले अगाडि बढ्यो। त्यसपछि थप गोल भएनन्।
नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।