काठमाडौं। फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ।
रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनले नेपालमाथी ५-० को जित निकालेको हो। बहराइनले पहिलो हाफमा मात्र तीन गोल गरेको थियो।
बहराइनका लागि खेलको दोस्रो मिनेटमै माहदी हुमाइदानले गोल गर्दै अग्रता दिलाए। त्यस्तै नवौँ मिनेटमा सायद बकेर र पहिलो हाफमाको इन्जुरी टाइमको तेस्रो मिनेटमा अली मादनले गोल गरे।
दोस्रो हाफको ८७औं मिनेटमा इब्राहिम अल खतलले गोल गर्दै बहराइनलाई ४–० को अग्रता दिलाए। त्यसपछि इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा इस्माइल अब्दुल लतिफले गोल गर्दै बहराइनलाई ५-० को जित दिलाए।
समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ। नेपाल लगातार तीन हारबाट अंकविहिन हुँदै पूछारमा छ। नेपालले छनोट अन्तर्गत नै बहराइनसँगको अवे खेल आगामी मंगलबार रिफामै खेल्नेछ।
नेपालले दशरथ रंगशालाको अवस्था विश्वकप छनोटको खेल खेलाउन लायक नभएपछि खेल बहराइनमा खेलाइएको हो।