काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले टेक्ने हरेक ठाउँमा भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै उनले श्रम र उत्पादनसँग जोडिएको वाइसीएल अभियानको सुरुवात गरेका हुन्।
उनको भनाइमा, "देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले गहिरो संकटमा छ। अहिलेको सरकार जहाँ पुग्छ, त्यहीँ भ्रष्टाचार देखिन्छ। यस्तो सरकार मुलुकलाई असफलतातर्फ लैजाँदै छ।"
सरकारको गतिविधि यही ढङ्गमा अगाडि बढे सडकमा उत्रेर प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन्। उनले जनसम्बन्ध सुदृढ गर्दै श्रम र उत्पादनमा आधारित सुशासन, सामाजिक न्याय र समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए।
प्रचण्डले श्रम र उत्पादनको अभियानसँग जोडिएर प्रतिक्रियावादी तथा प्रतिगामी षड्यन्त्रको प्रतिवाद गर्न वाइसीएललाई निर्देशन दिए। उनले भने, "परिवर्तन उल्ट्याउने दुस्साहस भइरहेको छ। अहिलेको सरकारबाटै सुशासनका विरुद्ध ठूलो षड्यन्त्र भइरहेको देखिन्छ। यस्तो अवस्थाबारे जनतालाई जागरुक बनाउँदै युवाशक्तिलाई संगठित र परिचालित गर्न आवश्यक छ।"