काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित पार्टी मुख्यालयमा जारी पोलिटब्युरो बैठक आजै ९शनिबार० सक्ने गरी रुलिङ गरेका छन्।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शुक्रबारदेखि सुरु भएको बैठकमा हालसम्म ३२ जना नेताहरूले आफ्नो धारणा राखिसकेका छन्। यद्यपि, अझै ४० जना हाराहारीका सदस्यहरूले धारणा राख्न बाँकी रहेको जानकारी उनले दिए।
बैठकमा शुक्रबार र शनिबार दिउँसोसम्म बोल्ने नेताहरूमा उत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, लिला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरी बहादुर रिजाल, जितु गौतम, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती मगर लगायत रहेका छन्।
गौतमका अनुसार, विनोद श्रेष्ठलगायत केही नेताहरूले आफ्नो धारणा लिखित रूपमा पेश गरेका छन्।
पार्टी अध्यक्ष ओलीको रुलिङ अनुसार आजै साँझ ६ देखि ७ बजेसम्म बैठक सम्पन्न गर्ने उद्देश्यले बोल्ने क्रमलाई तीव्रता दिइएको जनाइएको छ।
बैठकमा पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले पार्टी विधानसँग सम्बन्धित विषयका साथै समसामयिक राजनीतिक परिदृश्य, संगठन सुदृढीकरण र आगामी कार्यदिशाबारे पनि आफ्ना विचार प्रस्तुत गरेका छन्।
बैठकमा छलफलको मूल उद्देश्य आगामी महाधिवेशन, सांगठनिक समीक्षा र पार्टी रणनीतिक मार्गरेखाको निर्धारण रहेको बताइएको छ।