काठमाडौं। आफूलाई अभियन्ताको रूपमा चिनाउँदै आएका युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
उक्त मागसहितको निवेदन लिएर सफल बिहीबार आयोग पुगेका हुन्। उक्त निवेदनमा सफलले पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचान मेटिएको भन्दै सो शब्द हटाउन माग गरेका छन्।
निवेदनमा उनले ‘स्वतन्त्र भन्ने शब्दले जनमतलाई भ्रमित पार्ने काम भएको बताएका छन्। यस्तै पार्टीको चुनाव चिह्न ‘घण्टी’ पनि हिन्दु धर्ममा पूजा–आराधनाका क्रममा प्रयोग हुने, धार्मिक आस्था, विश्वास र मूल्यसँग गाँसिएको प्रतीक भएको उल्लेख गर्दै हटाउन माग गरेका छन्।