विराटनगर। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले कोइराला निवास कांग्रेसको पवित्र तीर्थस्थल भएको बताएका छन्।
विराटनगरको कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै उनले यहाँ आउनु मन्दिरमा आएसरह हुने भन्दै आफू मन्दिरको प्राङ्गणमा आएर यहाँको माटो स्पर्श गरेको बताए।
उनले भने, ‘कोइराला निवासमा आउनुलाई गुटका रूपमा नलिनू। कोइराला सम्झिँदा मेयर नागेश कोइरालामात्रै सम्झनु भएन कि ? कृष्ण प्रसाद कोइराला, बीपी कोइराला, मातृका कोइराला, गिरिजा प्रसाद कोइराला र सुशील कोइराला पनि सम्झनु पर्छ। कोइराला निवासमा कांग्रेसीजन मात्र होइन, सबै नेपाली बारम्बार आइरहनु पर्छ।‘
उनले कोइराला निवास पवित्र भूमि भएका बताए। ‘यो कुनै धार्मिक स्थल गएजस्तै हो। यहाँ आउँदा कुनै मन्दिरको प्राङ्गणमा गएर जमिन स्पर्श गरेजस्तै थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास राख्छु, उनले भने।’
कुनै बेला पार्टी सभापति शेरबहादुर देउवाका प्रिय पात्र मानिने खाण पछिल्लो समय टाढिएका छन्। खाणले फागुनको दोस्रो साता लुम्बिनीको एक कार्यक्रममा संस्थापन समूहको साथ छाड्ने प्रष्ट संकेत गरेका थिए।
खासगरी भुटानी शरणार्थी प्रकरणमा थुनिएको बेला देउवाको साथ नपाएको भन्दै उनी असन्तुष्ट सुनिन्छन्। उनी धरौटीमा छुटेपछि पनि संस्थापन समूहका नेताभन्दा इतर पक्षकासँग सम्बन्ध विस्तारमा छन्।