काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनलाई सामान्य प्रक्रिया भएको बताएका छन्। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीमण्डल गठन वा पुनर्गठन हुनु स्वाभाविक प्रक्रिया भएको स्पष्ट पारे।
स्पेन भ्रमणपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चा सार्वजनिक भएपछि त्यसबारे पत्रकारको प्रश्नमा मन्त्री गुरुङले भने, “मन्त्रीहरूको कार्यकालबारे प्रधानमन्त्रीले पहिले नै भनेको हो- एक वर्षको मूल्यांकन हुन्छ, त्यसपछि थपघट हुन सक्छ।”
उनका अनुसार सरकारले हालसम्मको एक वर्षको अवधिमा स्थिरता र स्थायित्वसहितको सफल कार्यकाल बिताएको छ। “हामीले अहिलेसम्म कुनै दायाँबायाँ गरेका छैनौं, न त कुनै ठूलो उतारचढाव आएको छ। यो एक वर्ष अपेक्षाकृत सफल रह्यो,” उनले दाबी गरे।
मन्त्री गुरुङले सरकारले अर्थतन्त्र सुधार, नीतिगत स्थायित्व र कार्यक्षमतामा सुधार ल्याउन प्रयासरत रहेको भन्दै अब सरकार पूर्णरूपमा दौडिने मोडमा पुगेको उल्लेख गरे।