काठमाडौं। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) ‘फाष्ट ट्रयाक’बाट पारित गर्ने भएको छ। लामो रस्साकस्सीपछियो विधेयक संसदबाट पास हुने तयारी अवस्थामा छ।
मंगलबार पेस भएको विधेय आज (बुधबार) बस्ने प्रतिनिधिसभाको बैठकले पास गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजे बस्ने छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव गर्नुहुने संसद् सचिवालयले जनाएको छ।
यस्तै आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस् भनी कानुनमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रमुख तीन दल हुँदै कानुन समितिबाट सहमतिमै सदन पुगेको यो विधेयक तीन दलको मात्र नभएर सिंगो संसदको स्वामित्वमा पुगेको हो। विधेयकमा रहेका विवाद मिलाउन मुख्य दलहरु मात्रै सक्रिय भए पनि अब संसद्मा पुगेसँगै सबै पक्षले अपनत्व नगर्ने स्थितिको आशंका टुङ्गिएको छ।
विधेयकलाई बे-रोकतोक अघि बढाएर पारित गरे १८ वर्षदेखि न्यायको पर्खाइमा रहेका द्वन्द्वपीडितले न्याय पाउने अपेक्षा गरिएको छ।
आज विधेयक प्रतिनिधिसभाबाट पारित भए भोलि राष्ट्रिय सभाबाट विधेयक पारित गर्ने तयारी छ। राष्ट्रिय सभाको बैठक भोलि दिउँसो सवा १ बजेलाई बोलाइएको छ। राष्ट्रिय सभाले पारित गरेपछि सन्देश प्रतिनिधिसभामा सुनाएपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइने छ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयक राजपत्रमा प्रकाशित भएसँगै ऐनको रूपमा कार्यान्वयनमा आउनेछ।