काठमाडौं। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विवेक बानियाँले पदबाट राजीनामा दिएका छन्।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बानियाँले संघका केन्द्रीय अध्यक्षले अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी ढङ्गले क्याम्पस ईकाइहरुमा गरेका मनोमानीपूर्ण गतिविधि गरेको भन्दै पदबाट राजीनामा दिएको जानकारी दिएका छन्।
संघका अध्यक्ष दुजाङ शेर्पा १२औं अधिवेशन सम्पन्न गर्नेतर्फभन्दा संगठनमा आन्तरिक विवाद सिर्जना गरी तदर्थवाद बाटै आफ्नो पद लम्बाईराख्ने र सिंगो संगठनको गरिमालाई धमिल्याउने काममा उन्मुख रहेको बानियाँको आरोप छ।
‘ने. वि.संघका वर्तमान केन्द्रीय अध्यक्षले अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी ढङ्गले देशभरका विभिन्न जिल्ला तथा क्याम्पस ईकाइहरुमा गरेका मनोमानीपूर्ण गतिविधि/नियुक्ति १२औं अधिवेशन सम्पन्न गर्नतर्फ भन्दा संगठनमा आन्तरिक विवाद सिर्जना गरी तदर्थवाद बाटै आफ्नो पद लम्बाईराख्ने र सिंगो संगठनको गरिमालाई धमिल्याइ ने. वि. संघको अस्तित्व नै संकटमा पार्न तर्फ उन्मुख देखिन्छ।
मातृ पार्टी नेपाली कांग्रेसले ६ महिना भित्र संघको १२ औं अधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी प्रदान गरी पटक पटक समय थप गर्दै आएको र नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (२०८० पुस १२–१४) को निर्णय र नेपाली कांग्रेसको महासमितिको बैठकमा प्रस्तुत सांगठनिक प्रस्ताव अनुसार कार्यसमितिको अवधि मिति २०८१ असार १५ गते सम्म मात्र रहेको छ।
तर लोकतान्त्रिक संगठनमा रहेर केन्द्रीय अध्यक्षको अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कार्यको भारी बोक्न मेरो नैतिकताले दिदैन,’ बानियाँद्धारा जारि विज्ञप्तिमा उल्लेख छ।
योगदान, क्षमता, कार्यकौशलता र पृष्ठभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व लिप्त रहेको उनको भनाइ छ।
माृत पार्टी नेपाली कांग्रेसले प्रदान गरेको मुख्य जिम्मेवारी संघको १२ औं अधिवेशनको कुनै पनि प्रक्रिया प्रारम्भ हुनुको सट्टा र संघका सम्पूर्ण इकाईहरु थप विवादित हुँदै गएकोले सदस्यको भूमिकामा बसिरहनु उपयुक्त नहुने बनियाँको ठहर छ।