काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिने भएका छन्।
बिहान सवा १० बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा सोडारीले विश्वासको मत लिने भएका हुन्। ६ वैशाखमा एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए।
२१ वैशाखमा विश्वासको मत लिने तयारी गरेपनि एमालेले तत्काल मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री सोडारी रोकिएका थिए। अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकार बाहिर बस्ने निर्णय गरिसकेको छ।
नेकपा माओवादी केन्द्रले विश्वासको मतबारे निर्णय लिन प्रदेश संसदीय दलको बैठक बोलाएको छ भने नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ।
रञ्जिता पक्षका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाले भने मत दिनेछन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ।
यो विषयमा निर्णय लिन कांग्रेसको प्रदेश संसदीय दलको बैठक जारी छ।