२०८३, आश्विन २७ गते

इलाम २ मा एमालेका सुहाङ विजयी, रास्वपाको जमानत जफत

इलाम २ मा एमालेका सुहाङ विजयी, रास्वपाको जमानत जफत

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • इलाम २ मा एमालेका सुहाङ विजयी,  रास्वपाको जमानत जफत

    काठमाडौं। प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन्।

    अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए। तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो।

    सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए। कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए। निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए।

    माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो।

    निर्वाचन ऐनमा प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारहरुले १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिकतर्फको चुनावमा ५० हजार रुपैयाँ निर्वाचन आयोगमा बुझाउनुपर्छ। तर प्रत्यक्षतर्फको चुनावमा महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट पाइन्छ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij