काठमाडौं। देशका बिभिन्न स्थानमा आज पनि मौसम सामान्य देखि आंशिक बदलीको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदलीकोृ सम्भावना रहेको छ। यस्तै लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ।
आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
मौसमविद्ले भोलि पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएका छन्। आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने नदेखिए पनि आजको जस्तो झरी नहुने महाशाखाले जनाएको छ। तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ।