काठमाडौँ। लेखक होम परिबागद्वारा लिखित पुस्तक ‘नेपालमा को-के ठीक छैन ?’ सार्वजनिक भएको छ। सोसाइटी बुक्स, नेपालले विचारोत्तेजक उक्त गैरआख्यान सार्वजनिक गरेको हो।
नेपाललाई आधा भरिएको गिलासका रुपमा विज्ञहरुले व्याख्या गर्ने गरेकोमा त्यही अवधारणामा यो पुस्तक लेखिएको हो। पुस्तकको मूल उद्देश्य गिलास भरी बनाइ हेर्नुपर्ने अवधारणाबाट प्रेरित छ, यसको माध्यमबाट नेपालमा नयाँ सकारात्मक सोच विचारको चिन्तन सुरु हुनसक्छ भन्ने विश्वास लेखकको रहेको छ।
नेपाल र नेपालीले के कस्ता समस्याहरुमा बल्झिन, अल्झिन र गुज्रन परेको छ, तिनका मानव सृजित कारणहरु के हुन् रु विगतमा नसोचिएका सामान्य विषयवस्तुलाई लामो समय लगाएर लेखकले सरल तरिकाले यस पुस्तकभित्र उठान गर्ने प्रयास गरेका छन्।
पुस्तकमा लेखकले नेपालको राजनीति, राजनीतिज्ञ, राजनीतिक परिवेश, जटिलता, शक्ति सन्तुलन र समस्या, कर्मचारीतन्त्र, पत्रकार र पत्रकारिता, व्यापार र व्यापारी, बैंक तथा वित्तीय संस्था, गाउँ र शहर, गीतसंगीत, कलाकार, नेपाली सेना र प्रहरी, नेपाली कानुनी मामला र वकिलहरुलगायतका विषयहरु समेटेका छन्।
यसैगरी बस र ट्याक्सी चालक, यात्रा र यात्रु, ठेकेदारी, शिक्षा क्षेत्र, विदेशमा रहेका नेपाली, धनी र गरिबलगायतको पनि विवेचना गरेका छन्। सबै क्षेत्रको विवेचनापश्चात् लेखकले यी दुर्दशा किन सुरु भए र अबको बाटो के भन्ने सन्देश पनि पुस्तकमार्फत दिन खोजेका छन्।
गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटमा जन्मिएका परिबाग हाल बेलायतमा बस्छन्। पत्रकारिताबाट करियर सुरु गरेका परिबागका यसअघि याद हराएको मान्छे (उपन्यास, २०५०) र स्वर सम्राट नारायणगोपालबारे लेखिएको पहिलो पुस्तक ‘यात्राहरू नारायणगोपालका’ प्रकाशित छन्।
यस्तै उनले रुमीका कविता र खालिल जिब्रानको पैगम्बरलाई पनि नेपालीमा अनुवाद गरेका छन्।