काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलान्चोक जिल्ला कमिटीले माध्यमिक शिक्षा निःशुल्क गराउन सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।
अनेरास्ववियुले काभ्रेका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो ।
रिटमा विद्यार्थीको निःशुल्क पढ्न पाउने संवैधानिक हक विपरीतको कार्य रोक्न विपक्षीहरुले भूमिका नखेलेको कारणले विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको हुँदा, उक्त कार्यलाई रोक लगाउन अन्य कुनै प्रभावकारी वैकल्पिक उपचारको मार्ग नभएकोले बाध्य भइ सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न आउनु परेको जनाइएको छ।
निवेदनको अन्तिम निर्णय नहुँदासम्म नेपालको संविधान एवं प्रचलित कानून विपरीत काभ्रेपलाञ्चोक जिल्लाका सरकारी एवं सामुदायिक विद्यालयले कुनै पनि नाममा शुल्क नलिनु र माध्यामिक तह सम्मको शिक्षाको लागि नेपाल सरकारले अवश्यक व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश समेत माग गरिएको छ ।