२०८३, आश्विन २७ गते

टोखा हराभरा बनाउँदै रोटरी क्लब: वृक्षारोपण र नर्सरी स्थापना

टोखा हराभरा बनाउँदै रोटरी क्लब: वृक्षारोपण र नर्सरी स्थापना

आइतवार, श्रावण १२ २०८२
आइतवार, श्रावण १२ २०८२
  • टोखा हराभरा बनाउँदै रोटरी क्लब: वृक्षारोपण र नर्सरी स्थापना

    काठमाडौं। रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा "रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना तथा वृक्षारोपण कार्यक्रम" सम्पन्न गरेको छ। उक्त कार्यक्रमअन्तर्गत कुल ४५० बिरुवाहरू रोपिएको क्लबले जनाएको छ।

    कार्यक्रममा ५० वटा सिप्रसका बिरुवा र ४०० फलफूल तथा जडीबुटीका बिरुवा नर्सरी स्थापनाका लागि रोपिएका हुन्। धुपी, तेजपत्ता, सुन्तला, मुन्तला, कागती, रोजमेरी, तुलसी लगायतका बहुपयोगी बिरुवाहरू रोप्ने योजना अन्तर्गत कार्यक्रमले जैविक विविधता संरक्षणमा योगदान पुर्‍याएको छ।

    सामुदायिक वनको अनुरोधअनुसार सिप्रसका बिरुवाहरू वनको विशेष क्षेत्रभित्र रोपिएको हो। वृक्षारोपणपछि सहभागी टोलीले नवस्थापित नर्सरीको अवलोकन गरेको थियो। सो क्रममा ४०० बिरुवाहरूलाई औपचारिक रूपमा इन्द्रायणी भुतखेल सामुदायिक वनका प्रतिनिधिहरू श्री सूर्य मान डंगोल र श्री हरि नारायणलाई हस्तान्तरण गरिएको थियो।

    यी बिरुवाहरूलाई आवश्यक हेरचाह गरी हुर्काइएपछि मात्र वन क्षेत्र वा अन्य उपयुक्त स्थानमा रोप्ने योजना बनाइएको छ। कार्यक्रमले विगतको अनुभवलाई ध्यानमा राख्दै यो वर्ष प्रत्यक्ष रोपाइँको साटो नर्सरीमा हुर्काउने रणनीति अपनाएको छ। अघिल्ला वर्षहरूमा वर्षायाममा रोपिएका करिब ५०–६० प्रतिशत बिरुवाहरू अत्यधिक पानीका कारण नष्ट हुने गरेको तथ्यका आधारमा यस वर्ष दीर्घकालीन सफलताका लागि नयाँ विधि लागू गरिएको हो।

    नर्सरीको विशेष पहलका रूपमा कम्पोस्ट मल उत्पादन केन्द्र समेत स्थापना गरिएको छ। उक्त केन्द्रमा वन क्षेत्रमा झरेका पात र घाँस प्रयोग गरी जैविक मल उत्पादन गरिन्छ, जसको प्रतिकिलो मूल्य २५ रुपैयाँ तोकिएको छ। यसले वन र नर्सरी व्यवस्थापनमा आर्थिक सहयोग पुर्‍याउँदै आएको छ।

    कार्यक्रममा ९ जना रोटेरियन, ४ जना सामुदायिक वनका स्वयंसेवक र २ जना रोटरी स्वयंसेवक गरी कुल १५ जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको समर्पण र सहकार्यले हरित र दिगो भविष्यप्रतिको साझा दृष्टिकोणलाई स्पष्ट रूपमा उजागर गरेको छ।

    टोखास्थित इन्द्रायणी भुतखेल सामुदायिक वन क्षेत्रमा सञ्चालन गरिएको यो परियोजना वन संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा स्रोतहरूको आत्मनिर्भर उपयोगमा आधारित दिगो विकासको उत्कृष्ट नमुनाका रूपमा स्थापित भएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij