२०८३, आश्विन २७ गते

आज कहाँ छ बाढी र पहिरोको जोखिम ?

आज कहाँ छ बाढी र पहिरोको जोखिम ?

आइतवार, श्रावण ५ २०८२
आइतवार, श्रावण ५ २०८२
  • आज कहाँ छ बाढी र पहिरोको जोखिम ?

    काठमाडौं। देशका पूर्वी क्षेत्रका साथै गण्डकी प्रदेश आसपासमा सक्रिय मौसमी प्रणालीका कारण विभिन्न स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा जारी छ। प्रणाली दक्षिण पश्चिमतर्फ विस्तार भइरहेकाले अझै केही घण्टा तीव्र वर्षाको सम्भावना रहेको जनाइएको छ।

    अत्यधिक वर्षाका कारण पहाडी खोला तथा नदीमा जलसतह उल्लेख्य रूपमा बढेको छ। केही स्थानमा डुबान तथा आकस्मिक बाढीको सम्भावना उच्च रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

    भारी वर्षा भएका क्षेत्र
    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा इलाम, धनकुटा, कास्की र पर्वत जिल्लामा मापन गरिएको छ। इलामको माईपोखरीमा १८२.२ मि.मी, धनकुटाको त्रिवेणीमा १९५.६ मिमी, र मझुवाघाटमा १७३ मिमी, कास्कीको लुम्लेमा १६२.६ मिमी वर्षा भएको छ।

    यस्तै लुम्लेसहित याम्जाकोट, लमजुङको बुझुङ र खुदीबजार, पर्वतको पञ्चासे, रुकुमपूर्वको शेरागाउँ, तनहुँको भार्षे लगायत क्षेत्रमा पनि उल्लेख्य वर्षा मापन गरिएको छ।

    जोखिम क्षेत्र

    इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ। पर्वतको मोदी खोलामा बाढी आएको पुष्टि भएको छ। पहाडी तथा भिरालो क्षेत्रहरूमा पहिरोको सम्भावना उच्च रहेको छ।

    विशेष गरी साना खोलामा पानीको बहाव अकस्मात् बढ्न सक्ने खतरा रहेको र होचा भूभागमा डुबानको सम्भावना रहेकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।

    बाढी पूर्वानुमान महाशाखाले प्रभावित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन एसएमएस मार्फत सूचित समेत गरिसकेको छ। महाशाखाले आवश्यक नपरेसम्म नदी किनार, खोल्सामा नजान, बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्न र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij