२०८३, आश्विन २७ गते

देश छाडेर भागेपछि शेख हसिना पहिलो पटक बोलिन, के भनिन्?

देश छाडेर भागेपछि शेख हसिना पहिलो पटक बोलिन, के भनिन्?

बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • देश छाडेर भागेपछि शेख हसिना पहिलो पटक बोलिन, के भनिन्?

    काठमाडौं। बंगलादेश छाडेर भागेकी शेख हसिनाले ९औँ दिनमा समग्र घटनाक्रमबारे आफ्नो प्रतिक्रिया दिएकी छन्। हसिना साउन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी थिइन्।

    देश छाडेर भागेकी हसिनाको प्रतिक्रियालाई छोरा साजीव वाजिदले सामाजिक सञ्जालमा एक्समा पोस्ट गरेका हुन्। वक्तव्यमा हसिनाले हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई सजाय दिन माग गरेकी छन्।

    उनले विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनका क्रममा भएको आक्रमणलाई आतंकवादी आक्रमण भनेकी छन्। ‘विद्यार्थी, शिक्षक, प्रहरी, गर्भवती महिला, पत्रकार, अभियान्ता, अवामी दलका नेता,  विभिन्न संस्था र त्यससँग सम्बन्धित व्यक्तिहरू आतंककारी आक्रमणबाट मारिए,’ वक्तव्यमा उल्लेख छ।

    उनले आफूजस्तै प्रियजनहरू गुमाएर पनि बाचिरहेकाहरूप्रति समवेदना प्रकट गरेकी छन्। यस्तै उनले आफ्नो पिता एवं बंगलादेशका संस्थापक शेख मुजीबुर राहमानको प्रतिमा तोडफोडमा संलग्नमाथि पनि कारबाहीको माग गरेकी छन्।

    शेख हसिनाले १५ अगस्ट १९७५ मा आफ्ना पिता मुजीबुर रहमानसहित परिवारका अन्य सदस्यको हत्या गरिएको स्मरण पनि गराएकी छन्। उनले १५ अगस्टका दिन राष्ट्रिय शोक दिवस मनाउन पनि माग गरेकी छन्।

    ‘यी जघन्य हत्या र तोडफोडका पछाडि जिम्मेवार व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन र विस्तृत अनुसन्धान गर्न माग गर्दछु,’ हसिनाको वक्तव्यमा उल्लेख छ। उनले आफ्नै कार्यकालमा बंगलादेशले विकासशील राष्ट्रहरूमा सम्मानको स्थान बनाएको बताइन्। 

    उनले आफ्नो एकमात्र उद्देश्य बंगलादेशका पीडित नागरिकको मुहारमा मुस्कान ल्याउनु नै रहेको उल्लेख गर्दै यसमा सकारात्मक नतिजा पनि आइरहेको थियो भनेकी छन्। बंगलादेश अहिले विश्वासको विकासशील मुलुकको बिचमा सम्मानजनक स्थितिमा रहेको उनको भनाइ छ।

    उनले १५ अगस्टलाई राष्ट्रिय शोक दिवस उचित सम्मान र गम्भिरताका साथ मनाउन आग्रह पनि गरेकी छन्। भोलि बंगबन्धु स्मृति संग्रहालयमा पुष्पहार अर्पण गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्न पनि बंगलादेशी नागरिकहरूलाई आग्रह गरेकी छन्।

    हसिनाले  यसअघि अमेरिकाले आफूलाई अपदस्थ गर्न सघाएको आरोप लगाएकी थिइन्। तर अमेरिकाले हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै पनि संलग्नताको खण्डन गरेको छ।

    हसिनाका छोरा तथा पूर्वसरकारी सल्लाहकार सजीव वाजेद जोयले अज्ञात विदेशी शक्तिले बंगलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्यपि उनले कुनै प्रमाण भने पेस गरेका छैनन् ।

    हसिनाको बहिर्गमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको बताए । बंगलादेशको राजनीतिक परिवर्तन बंगलादेशी जनताको छनोट रहेको बताउँदै करिनले बंगलादेशको सरकारको निर्माण र विघटन गर्न पाउने अधिकार त्यहीँको जनतामा रहेको अमेरिकाको धारणा रहेको बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij