कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्नुपर्ने बताएका छन्।
राज्यमन्त्री चौधरीले नेपालको जस्तो सुन्दर र रमणीय पर्यटकीय गन्तव्य अन्य कुनै देशमा नभएको पनि उल्लेख गरे। कैलालीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी पनि गरे।
नेपालको बिकासको प्रमुख आधार पर्यटन भएको बताउँदै उनले भने, ‘यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्छ र देशको आर्थिक सम्बृद्धि हुन्छ।’
राज्यमन्त्री चौधरीले नेपालमा पर्यटक भित्र्याउन सरकारले यस क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए। उनले भने, ‘अब हामीले यहाँको हरेक पर्यटकीय गन्तव्यको पहिचान, त्यसको प्रबद्र्धन, संरक्षण र प्रचारप्रसार गर्नुका साथै घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि सुरक्षा देखि लिएर हरेक सेवा सुविधाको उचित व्यवस्थापन गर्नुपर्छ।’