काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनल ग्लोबल ट्वान्टी–२० क्यानडाको फाइनलमा प्रवेश गरेको छ।
ब्राम्पटन उल्भ्सलाई पाँच विकेटले पराजित गर्दै टोरन्टो उपाधिनजिक पुगेको हो। यद्यपि, यो खेलमा रोहित भने प्लेइङ ११ मा थिएनन्।
ब्राम्पटनले दिएको १४१ रनको लक्ष्य पछ्याएको टोरन्टोले १० बल बाँकी रहँदै जित दर्ता गरेको हो। टोरन्टोले जम्मा पाँच विकेट गुमाउँदै १४३ रन बनायो।
टोरोन्टोका लागि ओपनर तथा कप्तान कोलिन मुनरोले २० बलमा सर्वाधिक ३६,मोहम्मद नवाजले अविजित २४ तथा ओपनर उन्मुक्त चन्दले १९ रन जोडे।
वुल्भ्सका लागि अखिल कुमारले ३ तथा एन्ट्रु टाय र बेउ वेबस्टारले समान १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वुल्भ्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो।
वुल्भ्सका लागि निक हबसनले ३४ बलमा अविजित रहँदै सर्वाधिक ५१ रन जोडे। जर्ज मुन्सेले २६, ज्याक जार्बिसले २० तथा कप्तान डेबिड वार्नरले १३ रन जोडे।
टोरोन्टोका लागि रोमारियो शेफर्डले ४ तथा जितेन्द्रपाल माथरुले २ विकेट लिए। फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ। फाइनल आइतबार बेलुका हुँदैछ
फाइनलमा टोरन्टोले मन्ट्रियल टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल अगस्ट २४ मा हुनेछ। ग्लोबल ट्वान्टी–२० क्यानडा नेपालका ३ जना खेलाडीले खेलिरहेका छन्।
कप्तान रोहितसहित अलराउण्डर दिपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले ग्लोबल ट्वान्टी–२० क्यानडा खेलिरहेका हुन्। दिपेन्द्र र सन्दीप भने भ्यानकुभर नाइट्समा आवद्ध छन्। तर यो टोली समूह चरणबाट आउट भएको थियो।