काठमाडौं। सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा मृत भेटिएका युवकको हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ।
टाँडी निवासी १९ वर्षीय मुन्ना साह शनिबार मृत अवस्थामा फेला परेका थिए। साह गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए।
मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको उनले बताए। मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ।
घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए।