भागरथी भट्ट, बैतडी। नेपाल कृषिप्रधान देश हो। यहाँ ५०.४ प्रतिशत (आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार) जनसंख्या र कृषि गणना २०७८ का अनुसार ६२ प्रतिशत परिवार प्रत्यक्ष रूपमा कृषि पेसामा संलग्न छन्।
देशको कुल गार्हस्थ उत्पादनमा २४.१५ प्रतिशत कृषिको योगदान रहेको छ। नेपाल भौगोलिक हिसाबले सानो देश भए पनि ठाउँअनुसार फरक–फरक हावापानीले गर्दा फरक–फरक ठाउँमा मौसमी तथा बेमौसमी उत्पादन हुन्छन्। जसले गर्दा आर्थिक उपार्जनमा सहयोग पुग्छ।
कृषि भनेको एउटा कला हो, विज्ञान हो। जसलाई विभिन्न वस्तुहरूको विभिन्न विधिबाट उत्पादन हुन्छ । कृषि एउटा महत्वपूर्ण विषय हो । जसको महत्वपूर्ण भूमिका हुन्छ । कृषिबिना प्राणीहरूको अस्तित्व हुन सक्दैन। मानिसलाई जीवन निर्वाहका लागि आवश्यक पर्ने खाद्यतत्वहरू कृषिको सहायताले उत्पादन हुन्छन्। यति सानो नेपालमा कृषिको धेरै ठूलो सम्भावना छ।
जहाँ उच्च हिमाली भेगमा पशुपालन, पहाडी भागमा फलफूल खेती र तराईमा खाद्यान्न उत्पादन हुन्छ। कृत्रिम तरिकाले पशुजन्य र बालीजन्य उत्पादन गर्नु नै कृषि हो। खेत वा खेतबारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो। मानव सभ्यताको विकाससँगै परम्परागत रूपमा खेतीपातीको सुरुवात भएको पाइन्छ ।
जीवन निर्वाह तथा जीवन सञ्चालनको निम्ति कृषि आवश्यक कुरा हो। कृषि विश्वका अधिकांश मुलुकहरूले अपनाएको पेसा हो। कतिपयले आधुनिकीकरणमा रूपान्तरण गरिसकेका छन् भने कतिपयले अझैँ पनि परम्परागत तथा जीवन निर्वाहमुखी कृषि पेसामै निर्भर छन्।
कृषि नेपालको लागि मुख्य पेसा भए पनि यति बेला यो देशमा वार्षिक रूपमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ। नेपाली समाजलाई नियालेर हेर्दा सबैभन्दा भरपर्दो पेसा कृषि हो। धेरै नेपालीले जीविकोपार्जनको बलियो आधार कृषिलाई मानेका छन् तर सिँचाइ मल र आधुनिकीकरणको अभावमा भने कृषि पेसा ओझेलमा परिरहेको छ।
किसानहरूले पुरानै प्रचलनमा काम गर्न बाध्य भएका कारण कृषि वस्तुहरूका लागि छिमेकी मुलुकहरूमा भर पर्नुपरेको छ। नेपालमा कृषिको सन्दर्भमा सकारात्मक कदम नचालिएको पनि होइन, तर केही वर्षयता केही कृषकले यस पेसालाई आधुनिक व्यावसायिक रूपमा लैजाने प्रयास गरेका छन्। यस्ता प्रयासहरूले हालको कृषि बजारमा केही मात्रामा भए पनि स्थान लिएको छ।
केही अपवादलाई छोडेर नेपाली कृषिले अझै पनि युवा वर्गलाई आकर्षित गर्न सकेको छैन। फलस्वरूप दिनहुँ हजारौँ संख्यामा युवा रोजगारीकै खोजीमा खाडी तथा अन्य मुलुक जान बाध्य छन्।
कृषि क्रान्ति भन्नाले कृषि उत्पादन प्रणालीमा, आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण हुँदै कृषि औद्योगीकरणमार्फत कुल राष्ट्रिय आयमा उच्चस्तरको वृद्धि ल्याउनु हो। कृषि क्रान्तिबाट ग्रामीण कृषि क्षेत्रमा रहेको व्यापक बेरोजगारी, अदक्ष र गरिब श्रमशक्ति विस्थापित गरी प्रतिव्यक्ति आयमा व्यापक वृद्धि हुनु भन्ने बुझिन्छ।
विद्यमान परम्परागत कृषि प्रणालीमा रहेका संरचनागत प्रणालीगत र व्यवहारगत समस्याहरूको निवारण गरी कृषि पेसालाई सम्मानित कर्मको रूपमा स्थापित गर्नु आजको आवश्यकता हो। मुलुकमा औद्योगीकरण विकासका लागि मुख्य आधार कृषि हो।
मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान पु¥याउने कृषि क्षेत्रको व्यावसायीकरणमा राज्यस्तरबाटै बेवास्ता भइरहँदा मुख्य बालीको रूपमा रहेको धान खेती आकाशेपानीमा निर्भर रहेको छ। सिँचाइको अपर्याप्तता, मलको अभाव, ऊर्जाशील श्रम शक्तिको र खेतीयोग्य जमिनको खण्डीकरणजस्ता कारण बर्सेनि मुलुकको कृषि क्षेत्र खस्किँदो क्रममा छ।
भाषण र कागजमा निकै विकशित देखिसकेको नेपालको वास्तविक अवस्था भने दयनीय छ। कृषकका दर्जनौँ समस्या समाधानमा राज्यको ध्यान जान नसक्दा यसप्रतिको आकर्षण घटिरहेको छ।
कुल खेतीयोग्य जमिनको आधाभन्दा बढी क्षेत्रमा आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ। विश्वको सबभन्दा बढी धान उत्पादन हुने ठाउँ नेपालमा पर्छ। सिँचाइको अभावले गर्दा यस्ता ठाउँको संरक्षणमा समस्या भएको छ।
यसैबीच शनिबार २१औँ राष्ट्रिय धान दिवस मुलुकभर विशेष कार्यक्रम गरी मनाएको छ। वर्षभरि किसानको दुःख कष्ट नबुझ्नेहरू एक दिवसकै लागि भए पनि हिलो खेलेर सामाजिक सञ्जालमा फोटो राख्दै रंगमञ्चन गरिरहेका छन्।
प्रधानमन्त्रीदेखि मन्त्री र स्थानीय तहका जनप्रतिनिधि हुँदै सरकारी तथा गैरसरकारी निकायहरूको चटक हेर्ने हो भने उनीहरू कुनै अभाव छैन। रमाइलोका लागि एक दिन हिलोमा खेलेर गर्ने मजाकले वास्तविक किसानको अपमान भइरहेको छ।
धान दिवस तथा महोत्सवलाई एक दिन हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने मजाकका रूपमा लिनु हुँदैन। एकातिर समस्यै समस्यामा रुमलिएका कृषक मनसुन ढिला सुरु भएको र मलको अभावमा भौँतारिरहेका छन्।
उनीहरूको दुःख पीडामा मलमपट्टी लगाउन सरकार नै चुकिरहेको छ। एकातिर आकाशेपानीको भरमा रोपाइँ गरी पेट पाल्ने आसमा बसेका कृषक मनसुनको पर्खाइमा रोइरहेका छन्।
किसानहरूले न त समयमै मल बीउ बिजन पाउँछन्, न त सिँचाइ सुविधा नै उपलब्ध छ। कतिपय कृषकहरूले आफूले उत्पादन गरेका कृषिजन्य उत्पादित वस्तुहरूको मूल्यसमेत नपाउँदा मूकदर्शक बनेको सरकार र सरोकारवालाहरू धान दिवसकै दिन सरकारी बजेटमा दिवस मनाइरहँदा कृषकहरूमाथि अपमान भइरहेको कुरामा सरोकारवाला नै मूकदर्शक देखिन्छन्।
सरकारले भव्यताका साथ रोपाइँ दिवस मनाइरहँदा यो वर्ष पाँच प्रतिशत पनि रोपाइँ हुन नसकेको सरकारी तथ्यांकले नै देखाएको छ। सरकारले यसरी एक दिन दिवस मनाउनको सट्टा कृषि आधुनिकीकरणको नीतिलाई कार्यान्वयन गरेमा सबै कृषकहरूले दिवस मनाउन सक्ने थिए।
सबै युवा आफ्नै खेतबारीमा कर्म गरी नेपालमा बस्ने वातावरण बन्थ्यो होला। स्रोत साधन प्राप्त भए कृषिको मद्दतले देशको मुहार फेर्न सकिन्थ्यो कि ?
भट्ट पाटन बुहमुखी क्याम्पस बैतडीकी स्ववियु सभापति हुन्।