काठमाडौं। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीहरूको सूचीमा भारतीय खेलाडी विराट कोहलीलाई उछिन्दै पाकिस्तानका कप्तान बाबर आजम सबैभन्दा बढी रन बनाउने खेलाडीहरूको सूचीको पहिलो स्थानमा पुगेका छन्।
यसअघि विराट २९ रनले बाबर भन्दा अगाडी सबै भन्दा बढि रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा रहेका थिए। बबरले बिहीबार अमेरिकासँग भएको खेलमा ४४ रन बनाउँदै विराटको रेकर्ड तोडेका हुन्।
बाबरको टी–२० अन्तर्राष्ट्रियमा ४ हजार ६७ रन पुगेको छ भने विराटको ४ हजार ३८ रन छ। उनले १२० खेलमा ४१.०८ को औसतले ३ शतक र ३६ अर्धशतक प्रहार गरेका छन्।
दोस्रो स्थानमा रहेका विराट कोहलीले ४ हजार ३८ रन बनाएका छन्। यो सूचीको तेस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन्। उनले ४ हजार २६ रन बनाएका छन्।
चौथो स्थानमा आयरल्याण्डका पाउल स्टर्लिङ छन्। उनको ३ हजार ५९१ रन छ। पाँचौँ स्थानमा रहेका न्युजिल्याण्डका मार्टिन गुप्टिलले ३ हजार ५३१ रन जोडेका छन्।
बाबरले यसअघि जेठ पहिलो सातामा पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको कीर्तिमान तोडेका थिए। पाकिस्तान र आयरल्यान्डबिचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरले कोहलीको कीर्तिमान तोडेका थिए।
उक्त खेलपछि बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ५० वा त्योभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आमजले ३९औँ पटक ५० वा त्योभन्दा बढी रन बनाएका थिए्। कोहलीले भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ पटक ५० वा त्योभन्दा बढी रन बनाएका छन्।
यो सूचिमा भारतीय टोलीका कप्तान रोहित शर्मा तेस्रो स्थानमा छन्। रोहित शर्माले हालसम्म ३४ पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० वा त्योभन्दा बढी रन बनाएका छन्।