२०८३, आश्विन २८ गते

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

शनिवार, जेठ १२ २०८१
शनिवार, जेठ १२ २०८१
  • व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

    काठमाडौं। तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ।

    ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर प्रमुख वैकुण्ठ न्यौपानेले पद सम्हालेको २ वर्षपछि उच्च अदालत पोखराले पुनः मतगणना गर्नुपर्ने फैसला सुनाएको हो।

    उच्च अदालतले १ जेठमा गरेको फैसलाको पूर्णपाठ बिहीबार जिल्ला निर्वाचन कार्यालय तनहुँ लगायतका विपक्षीलाई दिइएको छ। जसमा असार २ गते बिहान मत गणना गर्ने समय तोकिएको छ।

    उच्च अदालत पोखराका रजिस्ट्रार अच्युत कुइँकेलले भने, ‘पुनः मतगणनाको खर्च निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय तनहुँले व्यहोर्ने गरी पोखरा नजिक वा अदालतमा गणना हुने भएको छ। सम्बन्धी निकाय सबैलाई पत्राचार गरिसकेका छौं।’

    नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले धाँधली गरेर नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेलाई निर्वाचित घोषणा गरिएको भन्दै १२ जेठ २०७९ मा पुनः मतगणनाको माग गरेर उच्च अदालत पोखरामा रिट दिएका थिए।

    मतगणना गर्दा वडा नं १ देखि ८ सम्म आफूले धेरै मत पाएको तर वडा नं ९ देखि १४ सम्म षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको भन्दै जोशीले रिट दायर गरेका थिए।

    उक्त रिटको फैसला गर्दै अदालतले मतगणना सम्बन्धी फारम र एकीकृत मतगणना फारमलाई एक अर्कासँग भिडाउँदा, व्यास नगरपालिका वडा नं १० को १००१ देखि ११०० सम्मको मतगणना फारममा जोशीले ३० मत प्राप्त गरेको देखिएको र मत एकीकृत फारममा समावेश नभएको र त्यो मत जोशीको कुल मतमा जोडेको नदेखिएको पाइएको उल्लेख गरेको छ।

    त्यस्तै वडा नं ४ को एकीकृत मतगणना फारममा ५०० मतपत्र गणना गर्दासम्मको भनेर विभिन्न निर्वाचन चिह्नहरूमा जम्मा ४५३ मत उल्लेख भएको पूर्ण पाठमा भनिएको छ। त्यस फारममा बदर मतको हरफमा कुनै अङ्क उल्लेख भएको छैन। गणना गरिएको ५०० मतमा नपुग मत ४७ के भएको भन्ने नखुलेको अदालतले जनाएको छ।

    वडा नं १० को मतगणनामा जम्मा खसेको मत ३०४२ र उम्मेदवारहरूले २,५६७ मत प्राप्त गरेको तथा ४७५ बदर मत भनी उल्लेख गरिएको छ,। जबकी त्यस वडाको मतगणना फारममा गणना भई जम्मा ११६ बदर मतलाई धर्का तानी गणना गरी देखाइएकामा ४७५ मत बदर भएको पुष्टि नभएको अदालतले उल्लेख गरेको छ।

    नेकपा एमालेको सहयोगमा ब्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जोशी कांग्रेसका न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए। जोशी नेपाली काँग्रसका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्।

    न्यौपानेले १२ हजार ७८ मत ल्याएर निर्वाचित हुँदा जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार

    © 2026 All right reserved to muluksanchar.com  | Site By : Sobij