काठमाडौं। नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ। विहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको छ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। १ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन।
कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन। सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
कांग्रेसको पूर्व अडान यथावत् रहेको सांसद रामहरि खतिवडाले जानकारी दिए। आजको प्रारम्भिक कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने कार्यतालिका छ।