काठमाडौं। बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको सम्बन्धी घटनामा पक्राउ परेका एक आरोपीको मृत्यु भएको छ।
खानको बान्द्रास्थित घरबाहिर गोलीबारी गर्नेहरूलाई हतियार दिएको आरोपमा अनुज थापनलाई प्रहरीले पक्राउ गरेको थियो। उनले हिरासतमै आत्महत्याको प्रयास गरेको र तत्कालै अस्पताल लगिएको भए पनि मृत्यु भएको मुम्बई प्रहरीले बताएको छ।
अनुज थापानले बुधबार मुम्बई प्रहरीको हिरासतमा आत्महत्या गरेको भारतीय स१चार माध्यामले जनाएका छन्। अभियुक्तले मुम्बई प्रहरी मुख्यालयको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीले बिहान ११ बजे झुण्डिएको सूचना पाएको थियो। तर, अभियुक्त अनुजले आत्महत्या गरेको समयबारे भने खुलाइएको छैन। निकै गम्भीर अवस्थामा उनलाई सेन्ट जर्ज अस्पताल र त्यसपछि बिहान सीएसएमटी लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
मुम्बई क्राइम ब्रान्चले गोलीबारीमा संलग्न अनुज (३२) र सुभाष चन्द्र (३७) लाई पञ्जाबबाट अप्रिल २५ मा पक्राउ गरेको थियो। यो घटनाका लागि दुवैले हतियार दिएका थिए। दुवै आरोपी पञ्जाबको अबोहरका बासिन्दा हुन्।
आत्महत्या गर्ने कान्छो भाइ ट्रक हेल्पर थिए। दोस्रो अभियुक्त सुभाष किसान हुन्। दुवै आरोपीविरुद्ध पञ्जाब र हरियाणामा धेरै मुद्दा दर्ता छन्। दुवैले धेरै वर्षदेखि लरेन्स बिश्नोईसँग काम गरिरहेका थिए।
अनुज र सुभाषले मार्च १५ गते पनवेलका सागर पाल र विक्की गुप्ता नामका युवालाई दुईवटा पेस्तोल दिएका थिए। यही पेस्तोलबाट विक्की र सागरले सलमान खानको घर (ग्यालेक्सी अपार्टमेन्ट)मा गोली प्रहार गरेका थिए। विक्की र सागर गुजरातको भुजबाट पक्राउ परेका थिए भने अनुज र सुभाषलाई पञ्जाबबाट पक्राउ गरिएको थियो।
६ जना अभियुक्तमाथि लगाइयो मकोकाको धारा
खानको घरमा भएको गोलीकाण्डमा दोषीमाथि मकोकाको धारा लगाइएको छ। यसबाहेक मुख्य षड्यन्त्रकारी अनमोल बिश्वोई र लरेन्स बिश्नोईमाथि पनि मकोका लगाइएको छ। कुल ६ अभियुक्तलाई मकोका लगाइएको छ। मकोका लागु भएपछि अभियुक्तले छिट्टै धरौटी पाउन सक्ने छैनन्। मकोका धारा अन्तर्गत न्यूनतम सजाय ५ वर्ष जेल हो।