काठमाडौं। वेष्टइण्डिज ‘ए’ ले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ।
ओपनर जोनसन चार्ल्सको शतकमा वेष्टइण्डिजले त्रिवि क्रिकेट मैदान कीर्तिपुरस्थित तेस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई २ सय २८ रनको विशाल लक्ष्य दिएको हो।
टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा मात्रै ३ विकेट गुमायो।
वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चार्ल्सले शानदार शतक बनाए। चार्ल्सले ६१ बलमा ११९ रन बनाए। उनले यसक्रममा १३ चौका र ७ छक्का प्रहार गरे।
त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए। उनले ३३ बलमा ५३ रन हिर्काए। यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए। फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए। ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए।
दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफल तयार पारे। नेपालका लागि करन केसी र सागर ढकालले एक–एक विकेट लिए। शृङ्खला अहिले १–१ को बराबरीमा रहेको छ।
पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो। दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो।