काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको आन्दोलनमा घाइते भएका एक जनाको मृत्यु भएको छ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा चैत २७ गते गरेको प्रदर्शनका क्रममा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको हो।
आन्दोलनका क्रममा प्रहरीले पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले उनको स्वास्थ्यमा बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए। उनी राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत हुन्।
डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। डाँगीलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।