काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडिओ आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन्।
मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिएका छन्।
त्यसबारे स्पष्ट पार्दै उनले भनेका छन्, ‘अहिलेसम्म यो अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन्। मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडिओबाट प्रष्ट हुनुहुन्छ।’
उनले यसलाई चरित्र हत्या गर्ने प्रयास भएको पनि बताए। ‘‘यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो। कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए। मैले हुन्नँ भनेँ। त्यसपछि यी कुराहरू बाहिर आए।’