बाजुरा । जिल्लाको सदरमुकाम मार्तडीबाट करिब ७५ किलोमीटर टाढा उत्तर पुर्वि दिशामा रहेको हिमाली गाउँपालिकाको कुल क्षेत्रफल ८३०.३४ वर्ग किलोमीटर छ।
भौगोलीक अवस्थितिका हिसाबले बाजुरा जिल्लाको सबैभन्दा बढी क्षेत्रफल ओगटेको यो गाउँपालिका २९ डिग्री २८ मिनेट ५० सेकेण्ड उत्तरदेखी २९ डीग्री ५७ मिनेट १० सेकेन्ड उत्तरी अक्षांश र ८१ डीग्री २९ मिनेट ४० सेकेन्ड पुर्व देखी ८१ डीग्री ४७ मिनेट ४० सेकेन्ड पुर्वी देशान्तरमा फैलीएको छ। यस गाउँपालिकाको सिमाना पुर्वमा मुगु, पश्चिममा बझांङ, उत्तरमा हुम्ला र दक्षिणमा बुढीनन्दा नगरपालिका रहेको छ।
हिमाली गाउँपालिकामा स्थानिय सरकार संचालन पछि भएको विकास र आगामी योजना बारे अध्यक्ष गोविन्द बहादुर मल्लसंग गरेको कुराकानी:
गाउँपालिकामा निर्वाचित भएको लगभग दुई बर्ष भयो ? तपाईको दुई बर्षको कार्याकाल कसरी बित्दैछ ?
स्थानिय तहले गर्ने कामहरु, नितिगत कुराहरु विकास निर्माणका सवाल र जनतालाई सेवा प्रवाहका हिसाबले कार्यक्षेत्रभित्र रहेको कामलाई प्रभावकारी ढंगले कसरी संचालन गर्न सकिन्छ ? भन्ने कुराहरु म अघिल्लो कार्यकालमा पनि निर्वाचित भएर जानकारी भैसकेकाले यो कार्यकाल विकस निर्माणका काम लगायत जनताको सेवामा नै बिताइरहेका छौँ।
राजनितिज्ञ भएर जनताको सेवा गर्दा र जनप्रतिनिधि भएर सेवा गर्दा के फरक पाउनुभयो?
हिजो हामी कार्यक्रम देखाउने, समस्या दर्साउने, अरुलाई प्रश्न गर्ने ठाँउमा थियौँ भने अहिले कार्यान्वय गर्ने ठाँउमा छौँ, आफुले राजनिति गर्दा देखेका सपना पुरा गर्ने स्थानमा पुगेका छौँ,यसले आफ्नो सेवाप्रति अझै जिम्मेवार बनाएको महसुश भएको छ। स्थानिय तहले गर्ने कामहरु, नितिगत कुराहरु आफ्नो क्षेत्राधिकार भित्र रहेर कार्यान्वयन गर्ने प्रयासमा छौँ।
यो कृषि अन्तरगत रैथाने बाली उत्पादनका लागि उपयुक्त पालिका हो, यिनलाई पालिकाले कसरी सम्बोधन गरिरहेको छ ? कृषि मार्फत समृद्ध बन्नका लागि के–कस्ता कार्यक्रम संचालन गर्नुभएको छ ?
कृषिलाई नै पहिलो प्राथमिकता राख्नुपर्छ भनेर गाउँपालिकाको केन्द्रमा चिस्यानकेन्द्र स्थापना,व्यवसायिक कृषक बन्नुपर्छ भनेर कृषकहरुलाई प्रोत्साहन गर्ने, खाद्य सुरक्षाका लागि वृक्षारोण कार्यक्रम (५ वर्षका लागि फलफुलका बोटह पालिकाको अनुदानमा रोप्ने, प्रतिबोट रोपेर हुर्काएपछि कृषकलाई ५ केजी चामल दिने) अहिले त्यो कार्यक्रम मार्फत ३३ हजार बोटहरु फल्न सुरु गरेका छन्, जसले कृषकलाई व्यवसायिक र आत्मनिर्भर बनाउने छ।
किसानले उत्पादन गरेको बस्तुहरु बजारमा बोकेर पुर्याउनुपर्ने अवस्था भएकाले कृषि एम्बुलेन्स खरिद गरेर संचालनमा ल्याएका छौँ। बर्षायाम भएकाले अहिले संचालनमा छैन। प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र संचालन गर्ने र एम्बुलेन्स मार्फत उत्पादन बजार पुर्याउने योजना ल्याएका छौ।
कुन वडामा के फल्छ भनेर हामीले तथ्यांक संकलन गरी मुल्यांकन गरिरहेका छौँ। गाउँपालिका कृषिजन्य वस्तु आयात मात्रै नभई निर्यात गर्ने गरी लागि परेको छ।
पालिकामा खानेपानीको अवस्था के–कस्तो छ ?
खानेपानीका लागि ५ सय परिवार धिम गाँउका महिलाहरुले राती १२ बजेबाट लाइनमा बस्नुपथ्र्यो। रुम्दिका स्थानियले २ घण्टाको बाटो हिडेर डोकोमा बोकर पानी ल्याउनुपथ्र्यो, लगाउतका अन्य बस्तीहरुमा पनि खानेपानीको चरम अभाव थियो अहिले पालिकाको सबै टोल टोलमा खानेपानीका धारा छन्।
पालिकाका ९८ प्रतिशत नागरिक खानेपानीको पहुँचमा छन्। आवश्यक स्रोत भएको ठाँउमा सिचाई नहर पनि बनेका छन्।
संचार सेवाको अवस्था के छ ?
यहाँका स्थानियले टेलिफोन गर्नका लागि १ दिनको बाटो हिडेर कोल्टी र मुगु जिल्लाको ह्याग्लुमा जानुपर्ने अवस्था थियो। अहिले दुर्गमका केही खोच परेका स्थानमा बाहेक सबै वडामा टेलिफोन सेवा सुचारु भएको छ। ७ वटै वडा र १३ वटा स्वास्थ्य चौकीमा इन्टरनेट सेवा जोडिएको छ, अन्य स्थानमा पनि फोरजी सेवा संचालन भएको छ।
सडकको अवस्था के–कस्तो छ ?
स्थानिय सरकार संचानल अघि यातायातका साधन यहाँका नागरिकले किताबमा पढ्नुपथ्र्यो। अहिले पालिकाका ४ वटा वडाका टोल–टोलमा र ३ वडासम्म सडक जोडिएको र ठुलो बजेट आवश्यक पर्ने ठाँउमा सहयोगका लागि प्रदेश र केन्द्रसंग समन्वय भैरहेको छ।
स्वास्थ्य क्षेत्रको अवस्था के–कस्तो छ ?
सात वटा वडामा, गाउँपालिकाको केन्द्र धुलाचौरमा र पाँडी, बोर्ता, क्युडी, बाम,गुम्बामा थप ५ वटा गरी १३ वटा स्वास्थ्य चौकी पालिकाको सहयोगमा स्थापना गरिएका छन्। पालिकाका सबै गर्भवती महिला,वृद्ध र बालबालिकाहरुले सामान्य उपचार सेवा गाउँमै पाउने अवस्था भएको छ।
शिक्षा क्षेत्रको अवस्था के–कस्तो छ ? गुणस्तर सुधार्नका लागि के कार्यक्रम संचालन भैरहेका छन् ?
पालिकामा ८ वटा माध्यामिक विद्यालय छन्। शिक्षकको दरबन्दी २ जना मात्रै छ। १४ वटा आधारभुत विद्यालय छन्। शिक्षकको दरबन्दी ९ जना मात्रै छ। बाँकी सबै गाउँपालिकाबाट स्वयंसेवक शिक्षकहरु नियुक्त गरेर विद्यलाय संचालन गरिरहेका छौँ।
सबै विद्यलायका भवनहरु निर्माण गरिएका छन्। आवश्यक स्रोत साधनहरुको व्यवस्थापन गरिएको छ। शिक्षकलाई क्षमता विकास तालिम प्रदान गरेका छौँ। शिक्षाको गुणस्तर सुधार गर्नका लागि अतिरिक्त कक्षा संचालन पालिकाले गरेको छ। हाम्रो जस्तो भुगोल भएको स्थानमा आवासिय विद्यलाय संचालन गर्न जरुरी छ।
यसका लागि पनि दातृ निकायसंग पहल भैरहेको छ। साथै पालिकाको सबै स्थानमा विद्युत सेवा सुचारु भएको छ।
हिमाली गाउँपालिका जुडीबुटी उत्पादन पशुपालनका हिसाब पनि धनि पालिका हो यसको प्रसोधन र बजारीकरणका लागि के कस्ता कार्यक्रम संचालन गरिरहनुभएको छ ?
हिमाली गाउँपालिका आत्मनिर्भर हुनका लागि फलफुल खेती, जडीबुटी र पशुपालन तिनवटा कामलाई प्राथमिकतामा राख्न जरुरी छ। जसलाई हामीले कार्यान्वयन गर्ने प्रयास गरिररहेका छौँ। यहाँ भेडापालन व्यवसाय, चौँरीपालन व्यवसाय, जडीबुटी संकलन, प्रसोधन र फलफुल खेतीको प्रशस्त संम्भावना छ।
चौरीपालनका लागि पशुपक्षी विकास मन्त्रालयबाट बजेटको माग गरेर बजेट विनियोजन गरिसकेको छ। भेडापालन व्यवसायबाट हामीले हिमाली क्षेत्रको सुकुटी देशका विभिन्न सहरमा निर्यात गर्नसक्छौँ, मल निर्यात गर्न सक्छौँ। यसका लागि वित्तिय आयोगसंग समन्वय भएर आवश्यक सहयोगको पहल गरेका छौँ।
वडा नं १ मा जडीबुटी प्रशोधन केन्द्रका लागि भवन निर्माण भएका छन्। व्यवसायीक जडीबुटी खेतीका लागि यो वर्षमात्रै ३५ जनालाई तालिम प्रदान गरेका छौँ। प्रशोधनका लागि केन्द्र स्थापना गरेर केन्दसम्म बाटो पुर्याउने र बत्ती जडान गर्ने कार्य भैरहेको छ।
इजाजत प्राप्त व्यवसायीहरुले जडीबुटी संकलन र निकासीका लागि जिल्ला वन कार्यलयले नै पुर्जी दिने संवैधानिक व्यवस्था भएकाले जथाभावी भैरहेको महसुुश गरेका छौँ। स्थानिय तहले नियन्त्रण गर्न खोज्दा जिल्ला वन कार्यलयबाट इजाजत प्राप्त व्यवसायी भनेर जडीबुटी जथाभावी निर्यात भएको महसुश भैरहेको छ।
पालिकाका आन्तरिक तथा बाह्य पर्यटकिय क्षेत्रहरुको संरक्षण तथा संर्वद्धनका लागि के कस्ता कार्यक्रमहरु ल्याएको छ ?
धुलाचौर देखि पिलुचौरसम्मा र्याफटिङ्ग सुरु गरिएको छ। पर्यटकिय क्षेत्र रानिशैनमै गएर कार्यपालिकाको बैठक गर्याैँ, अहिले घोषणा गरेका छौँ।
रानिशैनमा आउजाउ गर्ने पर्यटकको संख्या बढेको छ। पर्यटन बोर्डसंग समन्वय गरेर पर्यटकिय महोत्सव संचालन गर्यौँ, जसले गर्दा हिमाली हुँदै मानासरोर जाने, रारा जाने, बुढीनन्दा जाने, पर्यटकको संख्या बढेको छ।
साथै पर्यटकिय महोत्सव संचालनपछि पर्यटन बोर्डबाट ५० लाख बराबरको बजेट आएको छ, त्यसैमा थपेर पालिकाले पर्यटन पर्वद्धनका होमस्टे संचालनका तालिम, टुरिष्ट गाइडको तालिम, काठेपुल निर्माण कार्यक्रम संचालन गरिरेहको छ। विभिन्न ठाँउमा मठमन्दिर निर्माण तथा संवद्र्धन गरिएका छन्।
७. पालिकाको विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दा तपाईलाई मुख्य रुपमा आउने चुनौतीहरु के के हुन् ?
सामान्य विकास निर्माणका लागि पनि यहाँका स्थानियले राजनितिकरण गर्दा विकास निर्माणका कार्य गर्दा समस्या सृजना भैरहेको छ। हिमाली गाउँपालिकामा विकास निर्माणका कार्य गर्दा राजनितिक दृष्टिकोण राख्दा विकास निर्माणमा ढिलासुस्ती भैरहेको छ।
यो पालिका बाजुरा जिल्लाकै सबैभन्दा ठुलो भुगोल भएको पालिका हो तर जनसंख्याका आधारमा बजेट विनियोजन गर्दा यो पालिका मर्कामा परेका छौँ। थोरै बजेटले धेरै विकास निर्माणका काम गर्नुपर्ने अवस्था छ। कर्मचारी अभाव छ। करार कर्मचारी भर्ना गरेर कार्यसंचालन गरिरहेका छौँ।
अहिले ती कर्मचारीलाई पनि तलब खुवाउन सक्ने अवस्था छैन।