रोल्पामा ठूलो मात्रामा अत्याधनिक हतियारका म्याग्जिन र गोली

धरेन्द्र डाँगी ।
रोल्पा, ९ जेठ । विगतमा लामो समय सशस्त्र युद्ध चलेको रोल्पामा पुनः हतियारका म्याग्जिन र गोली फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. २ रामपुर गाउँ नजिक ठूलो मात्रामा अत्याधनिक हतियारका म्याग्जिन र गोली भेटिएको हो । विगतमा माओवादी सेनाको पाँचौ डिभिजन रहेको स्थान दहवनदेखि करिव १५ किलोमिटर नजिकै ती सामग्रीहरु नेपाली सेना र नेपाल प्रहरीले बरामद गरेको हो । रामपुर गाउँको नजिकै बाँबघारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान फेला परेको प्रहरीले जनाएको छ । सोही स्थानबाट एके ४७ का गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउण्ड र ९ एमएमको गोली १० राउण्ड गरी ९ सय ७० थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
हतियारका सामग्रीहरु रहेको स्थानीले खबर गरेपछि नेपाली सेनाको बटुक दल गण दहवनमा रहेको गुल्मको टोली ती सामग्री बरामद गरेको हो । प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार बाँसको घारीमा प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा ती सामग्रीहरु फेला पारिएको हो ।
रोल्पामा पटक पटक ठूलो मात्रामा हरियार, गोली तथा विस्फोटक पदार्थहरु फेला पर्दै आएका छन् । गएको वर्ष मात्र त्रिवेणी गाउँपालिका ७ मा वेवारिसे बम विस्फोटक बम पड्कदा गोठालो भएका ४ जना बालको ज्यान गएको थियो । गोली र म्याग्जिन बरामद गरिएको आसपासका क्षेत्रमा सेना र प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको छ । गोली र म्याग्जिन नयाँ र फ्रेस देखिएको र विगत द्वन्द्वका बेलामा छोडिका जस्ता नभएकाले सुरक्षा निकायले गहिरो अनुसन्धान गर्ने भएको छ ।

प्रतिक्रिया