पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । स्रोतका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी निर्णय नै गरिएको हो । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ ।

बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

प्रतिक्रिया