फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि

३० साउन, काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।

तीमध्ये एक जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

‘एक जना खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । हामी उहाँलाई खबर गर्छौँ । उहाँ कहाँ कसरी बसिरहनुभएको छ, हाम्रो टिमले बुझ्छ’ स्रोतले भन्यो, ‘होम आइसोलेसनमा बस्ने हो भने त्यहीँ बस्न सल्लाह दिन्छौँ । लक्षण छ हस्पिटल लैजानुपर्ने भयो भने हस्पिटल लैजान सल्लाह दिन्छौँ ।’

नेपालमा यसअघि क्रिकेटका एक खेलाडीमा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया